पहिरोले अवरुद्ध राजमार्ग सञ्चालनमा
बुधबार रातिदेखि पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग आज बिहान ९ बजेदखि सञ्चालनमा आएको छ । बैतडीको सुर्नया गाउँपालिका–७ भन्ज्याङ नजिक हिजो राति २ बजेतिर सडकमाथिबाट पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
राजमार्ग अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका थिए । सडक डिभिजन कार्यालय बैतडीको एक्स्काभेटरले बिहानै पहिरो सफा गरेपछि रोकिएका सवारीसाधन गन्तव्यतिर गइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षकले बताए ।
यस्तै जिल्लाभित्रकै देहीमान्डौं–गिरेगडा सडक खण्ड पनि हिजो राति पहिरो जाँदा अवरुद्ध बनेको छ । दशरथचन्द नगरपालिका–२ को सुन्दरखाली नजिक सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बैतडीमा हिजो साँझदेखि भारी वर्षा भइरहेको छ ।
