कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न
कपिलवस्तु — कपिलवस्तु नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने जरलिहिया खोलाबाट बालुवा ल्याउने क्रममा आज दिउँसो करिब १:३० बजे भएको सवारी दुर्घटनामा ७ वर्षीया बालिका अंशिका खत्रीको ज्यान गएको छ।

गुरुकुल एकेडेमी स्कुलबाट घर फर्किने क्रममा बाटो काट्दै गर्दा लु २ ख ६४५५ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्करपछि बालिका लडेको अवस्थामा टिपरले अगाडि किचेपछि पुनः पछाडि फर्केर समेत किच्दा उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते बालिकालाई तत्काल कपिलवस्तु जिल्ला अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि उक्त टिपरलाई नजिकैको प्रहरी चौकी जगदीशपुरमा नियन्त्रणमा राखिएको छ भने चालकसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनापछि स्थानीयवासीले जरलिहिया खोलामा भइरहेको अवैध बालुवा उत्खनन तथा ढुवानी (कालाे धन्दा) नै यस्ता दुर्घटनाको मुख्य कारण रहेको आरोप लगाएका छन्। अत्यधिक टिपर सञ्चालन, तीव्र गति र लापरवाहीका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै उनीहरूले सम्बन्धित निकायसँग कडा कदम चाल्न माग गरेका छन्।
