
कपिलवस्तु दर्पण न्यूज
चैत २३ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालत काठमाडौंले थप गरेको म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो। जिल्ला अदालतले २१ चैतदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनको म्याद थप गरेको थियो, जसको अवधि २६ चैतमा सकिने भएकाले सोही दिन उनीहरू रिहा हुनेछन्।
ओली र लेखकलाई गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा लापरवाही गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि १४ चैतमा पक्राउ गरेको थियो।
यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले घटनामा उनीहरूको भूमिकाबारे छानबिन गरी कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
पक्राउ प्रक्रिया गैरकानुनी रहेको दाबी गर्दै परिवारले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो।
प्रहरीले उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताको दफा १८१, १८२ र १८३ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्ने’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
