
काठमाडौं — तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि अनुसन्धान प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। सोही आधारमा सीआईबीले विभिन्न व्यक्तिहरूको सम्पत्तिबारे गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैक्रममा कांग्रेस नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्का लाई आइतबार पक्राउ गरिएको छ। सीआईबीका एआईजी डा. मनोज केसी ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।
तीन पूर्वप्रधानमन्त्रीका सम्बन्धमा भने आधिकारिक रूपमा कुनै धारणा सार्वजनिक नगरिए पनि गृह मन्त्रालय स्रोतका अनुसार विभागको पत्राचारकै आधारमा उनीहरूको सम्पत्तिबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यसअघि ‘जेनजी आन्दोलन’ का क्रममा शेरबहादुर देउवा निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएको थियो। त्यस्तै गंगा दाहाल को निवास र केपी शर्मा ओली निवासमा समेत अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सरकारले उच्च तहका व्यक्तिहरूमाथि समेत छानबिन अगाडि बढाएको भन्दै यस घटनालाई महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
