कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ
कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विहिबार दिउँसो १२ बजे उक्त घटना भएको हो।
घटनामा करिब ३२ वर्षीय सुमन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि पिपरा अस्पताल लगिएकोमा अवस्था जटिल भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो। उपचारकै क्रममा चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनापछि अनुसन्धानका क्रममा सोही स्थानमा बस्ने ४५ वर्षीय उदय अधिकारीलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानमा अधिकारीले खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। घटनामा प्रयोग गरिएको हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
