कपिलवस्तुका प्रधानाध्यापक र विद्यालय समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तुको नगरपालिका–८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विद्यालयले प्राप्त विभिन्न शीर्षकका रकम हिनामिना भएको प्रमाणित भएपछि विशेष अदालत काठमाडौँमा सोमबार आरोपपत्र दायर गरिएको हो।
आयोगका अनुसार छात्रवृत्ति शीर्षकमा विनियोजित ५१ हजार ५ सय रुपैयाँ विद्यार्थीलाई वितरण गरिएको प्रमाण भेटिएन। त्यस्तै, दिवा खाजाबापत विनियोजित दुई लाख ४७ हजार ५० रुपैयाँमध्ये करिब ९ हजार ९०० रुपैयाँ बराबरको खाजा मात्र तीन विद्यार्थीलाई खुवाइएको र बाँकी दुई लाख ३७ हजार १५० रुपैयाँ दुरुपयोग भएको देखिएको छ।
पाठ्यपुस्तक शीर्षकमा निकासा भएको एक लाख १६ हजार ७२९ रुपैयाँमध्ये एक हजार ७६४ रुपैयाँ बराबरका पुस्तक मात्र तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम—एक लाख १४ हजार ९६५—खर्च नगरी हिनामिना गरिएको आयोगले जनाएको छ। यससँगै सामाजिक सुरक्षा करबापतको ३९ हजार ७१४ रुपैयाँसमेत नजमाँएको पाइएको छ।
समग्रमा छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक तथा सामाजिक सुरक्षा कर गरी जम्मा चार लाख ४३ हजार ४३० रुपैयाँ सम्बन्धित काममा खर्च नगरी गैरकानुनी रूपमा हिनामिना गरिएको आयोगको निष्कर्ष छ।
आयोगका अनुसार विद्यार्थीलाई दिवा खाजा नखुवाइनु, पाठ्यपुस्तक तथा छात्रवृत्ति वितरण नगरिनु र सामाजिक सुरक्षा कर दाखिला नगर्नु राज्य र सार्वजनिक संस्थालाई हानि पुर्याउने कार्य भएको र यसबाट प्रतिवादीहरूले गैरकानुनी फाइदा लिएका छन्।
यही आरोपमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम दुबैजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
