कपिलवस्तुको यशोधरा गाउँपालिकामा २१८ बोरा अवैध भारतीय युरिया मल बरामद

कपिलवस्तु, मंसिर २५ — कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट अवैध रूपमा नेपाल भित्र्याइएको २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल (बीओपी) डंगरीको संयुक्त टोलीले उक्त मल फेला पारेको हो।भन्सार प्रमुख किरण बिष्टका अनुसार टोलीले यशोधरा गाउँपालिका–७, मर्यादपुर सिमानाकाको पश्चिमपट्टि रहेको एक बगैँचामा बेवारिसे अवस्थामा छोपेर राखिएको मल फेला पारेको हो। बरामद गरिएको युरिया मल सुठौली भन्सार कार्यालयमा ल्याई कानुनी प्रक्रिया अघि बढाइएको छ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त मल भारततर्फबाट चोरी निकासी गरी नेपाल भित्र्याइएको अनुमान गरिएको छ। यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउ प्रक्रिया जारी रहेको पनि जानकारी दिइएको छ।स्थानीयहरूले सिमानाका क्षेत्रमा अवैध गतिविधि बढ्दै गएको भन्दै कडा निगरानीको माग गरेका छन्।
