११ कात्तिक, कपिलवस्तु । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिन यता कर्णाली प्रदेशका जिल्लाहरू घुमिरहेका छन् । उक्त क्षेत्रका स्थानीयसँग भेटघाट र सम्वादका भिडियो/तस्वीर उनले फेसबुकमा पोष्ट गरिरहेका छन् ।
पार्टी सचिव टीकाराम राईका अनुसार हुम्लामा झोलुङ्गे पुल राख्ने अभियान अन्तर्गत हर्क साम्पाङले यो भ्रमण गरेका हुन् । ‘पुलको अभियानमा अध्यक्ष त्यहाँ जानु भएको हो, त्यस क्रममा स्थानीय जनताका गुनासो सुन्ने काम पनि गरिरहनु भएको छ,’ राईले भने ।
२१ फागुनको निर्वाचनपछि श्रम संस्कृतिले पश्चिम नेपालमा पनि गतिविधि बढाएको हो । दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल बनाएर अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टी देशभर फैलन चाहेको सन्देश दिएका थिए ।
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटको प्रभावित क्षेत्रमा यो पार्टीका स्वयंसेवक परिचालित छन् । महासचिव आरेन राईका अनुसार बाढी गएको भोलिपल्टै प्रभावित क्षेत्र पुगेका श्रमदाताहरुले निरन्तर उद्धार, राहत र अस्थायी पुनर्स्थापनाको काम गरिरहेका छन् । अध्यक्ष साम्पाङ आफै पनि बाढी प्रभावित क्षेत्रमा श्रमदान गर्न पुगेका थिए ।
नुवाकोटका होल्डिङ सेन्टरहरुमा अत्यावश्यक सामग्री उपलब्ध गराउनेदेखि भोटेकोशीमा तुइन तान्न समेत यो पार्टीका नेता–कार्यकर्ता परिचालित थिए । अध्यक्ष साम्पाङ स्याफ्रुवेंशी पुगेर तुइन तानेको तस्वीर सामाजिक सञ्जालमा देखिएको थियो ।
कार्यकर्तालाई श्रमदाता सम्बोधन गर्ने यो पार्टीले संगठन विस्तारको कार्यक्रमलाई श्रमदानसँग जोड्ने गरेको छ । ‘भाषण गरेर र अरुलाई गाली गरेर हुँदैन । श्रमदान गरेर, जनताको दु:खमा साथ दिएर, सहयोग गरेर देश बन्छ भन्ने हाम्रो मान्यता हो,’ यो पार्टीका सांसद धु्रब राई भन्छन् ।
कोकाहा खोलाको पानी श्रमदानबाट धरान लगेर अलग परिचय बनाएका हर्क साम्पाङले पार्टी निर्माणको मुख्य आधार नै श्रम अभियानलाई बनाएका छन् । राजधानी उपत्यका होस्, अथवा पश्चिम नेपालसम्म श्रम अभियानकै सन्देश मार्फत साम्पाङले आफ्नो पार्टी बिस्तारलाई तीव्रता दिन खोजेका छन् ।
देशभर फैलने साम्पाङको चाहना भने पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जनमत हो । धरानका पूर्व मेयर साम्पाङको पार्टीले देशभरबाट मत पाएको थियो, जबकि सबै ठाउँमा उनका उम्मेदवार थिएनन् । १०९ सिटमा उम्मेदवारी दिए पनि १६५ क्षेत्रमै समानुपातिकतर्फको मत खसेको देखेपछि उनी भावी प्रधानमन्त्रीको सन्देश सहित श्रम अभियान बिस्तार गरिरहेका छन् ।
हातेमालोमा जोड
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने स्व–घोषणा सहित साम्पाङको श्रम संस्कृतिले देशभर फैलने चाहना राखिरहेपनि यसको आधार क्षेत्र भने कोशी प्रदेश नै हो ।
गत निर्वाचनको नतिजाले पनि श्रम संस्कृतिको आधार क्षेत्र पुष्टि गरेको कोशीमा श्रम संस्कृतिको संगठन विस्तार अभियान आक्रामक छ । यो पार्टीले असोजको पहिलो हप्ताबाटै निर्वाचन केन्द्रीत गतिविधि गरिरहेको छ ।
४ असोजमा झापाको कचनकवलबाट श्रम संस्कृतिले ‘हातेमालो अभियान’ शुरू गरेको थियो । कोशी प्रदेश अध्यक्ष प्रताप राईका अनुसार यो अभियान अन्तर्गत हालसम्म ६० वटा कार्यक्रम सकिएको छ । ‘हरेक शनिबार श्रमदाताहरुले श्रमदान गरिररहनु भएकै छ, त्यसबाहेक केन्द्रीय नेताहरु सहभागी भएर पनि कार्यक्रम चलिरहेको छ,’ राई भन्छन्, ‘हातेमालो अन्तर्गत ६० वटा जति ठूलै कार्यक्रम भइसकेको छ ।’
विशेषगरी पहाडी जिल्लाहरुमा श्रम संस्कृति पार्टीको गतिविधि बाक्लो छ । प्रदेश अध्यक्ष राईका अनुसार खोटाङ, भोजपुर, पाँचथर, इलाम र धनकुटामा टोल तहमै संगठन विस्तार भइसकेको छ । बाँकी जिल्लाहरुमा पनि टोलसम्मै पुग्ने लक्ष्य राखेर श्रम संस्कृति पार्टीको गतिविधि भइरहेको छ ।
‘आगामी चुनावमा हामी १३७ वटै स्थानीय सरकार बनाउँछौ, त्यसैअनुसार हामी जनताका घरआँगनसम्म पुगिरहेका छौ,’ अध्यक्ष राई भन्छन् । अरु दलले जस्तै चाडबाडलाई संगठन बिस्तारको अवसरका रुपमा यो पार्टीले पनि उपयोग गरिरहेको देखिन्छ ।
ठूला चाडबाड मनाउन घर फर्किएकाहरुबीच श्रम संस्कृतिका नेता–कार्यकर्ता पुगिरहेका छन् । अध्यक्ष साम्पाङ आफै पनि हातेमालो अभियान शुरु भएपछि भोजपुर, पाँचथर, धनकुटा र खोटाङ पुगिसकेका छन् ।
सुनसरी उनकै निर्वाचन क्षेत्र हो । धरान (सुनसरी–१) क्षेत्रमा रहेको उनको प्रभाव सुनसरीका अरु क्षेत्रमा पनि बिस्तार गर्न साम्पाङले जोड दिइरहेका छन् ।
नेताहरुको विश्लेषणमा सुनसरीको दक्षिण क्षेत्र, मोरङ र झापामा यो पार्टीको तुलनात्मक कम प्रभाव छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन्द्र शाह उम्मेदवार रहेको झापा–५ मै श्रम संस्कृतिका उम्मेदवारले पाएकोे मतबाट यो पार्टीका नेताहरु उत्साहित छन् ।
प्रधानमन्त्री बालेनले ६८ हजार ३४८ र ओलीले १८ हजार ७३४ मत पाउँदा श्रम संस्कृतिका समिर तामाङले ९ हजार २३३ मत पाएका थिए । बलिया उम्मेदवारहरुविरुद्ध तेस्रो धेरै आकर्षक मत पाएको श्रम संस्कृति कोशीमा दोस्रो ठूलो शक्ति बन्यो ।
कोशीमा कांग्रेस, एमाले र नेकपा जस्ता पार्टीहरु पछि पार्दै श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत सहित दोस्रो धेरै मत पाएको थियो । ८ लाख ५३ हजार १८३ मत सहित रास्वपा पहिलो शक्ति बन्यो । २ लाख ९० हजार ५६२ पाएर कांग्रेस तेस्रो हुँदा २ लाख ८८ हजार १८६ मत सहित एमाले चौथो दल बन्यो ।
चुनावी नतिजापछि पनि पार्टीको आकर्षण नरोकिएको नेताहरू बताउँछन् । ‘२१ फागुनको निर्वाचनका बेला संगठन थिएन, तर त्यसपछि थप बलियो हुँदैछौ,’ संसदीय दलका उपनेता धु्रब राई भन्छन्, ‘प्रदेशमा सरकार त बनाउँछौं नै, हर्क साम्पाङ प्रधानमन्त्री हुने आधार पनि तयार हुँदैछ ।’
श्रम संस्कृतिमा आकर्षण बढेको बुझेरै पूर्वमन्त्री सुदन किराती यो पार्टीमा प्रवेश गरिसकेका छन् । माओवादी पृष्ठभूमिका नेता किराती गत २५ वैशाखमा श्रम संस्कृति प्रवेश गरेका थिए । अहिले उनको मिसन मुख्यमन्त्रीमै छ ।
किराती निकट स्रोतका अनुसार श्रम संस्कृति प्रवेश गरे यता उनले प्रदेश केन्द्रीत गतिविधिमै आफूलाई व्यस्त बनाएका छन् । दशैं लगत्तै उनी सोलुखम्बु, संखुवासभा र ओखलढुंगाको कार्यक्रममा सहभागी हुँदैछन् । ‘निर्वाचन क्षेत्रलाई आधार मानेर जनताका समस्या पहिचान गर्ने, उनीहरुका कुरा सुन्ने र योजना बनाउने काममा हामी सक्रिय छौ,’ किराती निकट एक नेता बताउँछन् ।
हर्क साम्पाङ देशभर फैलन खोजिरहँदा सुदन किराती भावी मुख्यमन्त्री बन्नेगरी प्रदेश केन्द्रीत छन् । उनी जस्तै पार्टी प्रवेश गरेर आउने नेताहरु सम्बन्धित निर्वाचन क्षेत्रमा केन्द्रीत गरिएको नेताहरु बताउँछन् ।
प्रदेश अध्यक्ष राई, नेताहरु आफ्नो क्षेत्रमा केन्द्रीत हुनुलाई स्वभाविक मान्छन् । ‘योगदान, नेतृत्व गर्न सक्ने क्षमता र स्थानीय जनताको चाहनालाई ध्यान दिएर उम्मेदवार टुंग्याउँछौ,’ उनी भन्छन्, ‘यो आधार पछ्याउन पनि आफूलाई जनताको बीचमा लैजानु स्वभाविक हो ।’
प्रदेश अध्यक्ष राईको दावी अनुसार चुनावपछि दुई हजार बढी नेता–कार्यकर्ता प्रवेश गरिसकेका छन् । एमाले, कांग्रेस, नेकपा जस्ता पार्टी छोडेर आउनेहरु मध्ये धेरैको चाहना जनप्रतिनिधि बन्ने नै रहेको बुझ्न गाह्रो पर्दैन ।
पुराना पार्टीबाट जितेकै पद गुमाएर भएपनि श्रम संस्कृतिका प्रवेश गर्नुले पनि आगामी चुनाव हेरेर पार्टी प्रवेश गर्ने लहर चलेको बुझ्न सकिन्छ । श्रम संस्कृतिमा प्रवेश गर्नेहरुलाई एमाले, कांग्रेस र नेकपाले कारबाही गरेको सूचना पनि सार्वजनिक भइरहेकै छ ।
भावी मुख्यमन्त्रीको उम्मेदवार रहेका किराती, भोजपुरबाटै प्रतिनिधि सभा सदस्य जितेका ध्रुब राई, खोटाङबाट जितेका आरेन राई लगायत नेताहरुकै कारण पनि पार्टी प्रवेश कार्यक्रममा आकर्षण छ । यी नेताहरुले पुराना पार्टी छोडेर श्रम संस्कृतिमा राजनीतिक भविष्य बनाइरहेका छन् । उनीहरुलाई देखेरै अरुले पनि सिको गरेको बुझ्न सकिन्छ ।
परम्परागत शक्ति रक्षात्मक
धरानको मेयरबाट राजीनामा दिएर पार्टी खोलेका हर्क साम्पाङप्रति जनआकर्षण बढ्दा परम्परागत दलहरु भने दबावमा देखिन्छन् ।
विशेषगरी एमाले नेताहरु माटोको आकर्षणबाट चिन्तित छन् । पूर्वमुख्यमन्त्री एवं एमाले कोशीका इन्चार्ज शेरधन राईको सार्वजनिक अभिव्यक्तिले कोशीको राजनीति बुझ्न धेरै हदसम्म सहयोग गर्छ ।
‘घण्टी पुरै ओरालोमा छ, घण्टीप्रतिको आकर्षण कही कतै पनि छैन । मान्छेले पश्चताप गरिरहेका छन् अहिलेको सरकारको कामकारबाहीलाई लिएर,’ एक कार्यक्रममा राईले दाबी गरेका छन्, ‘तर यो माटोले चाहिँ हैरान दिने भो आउने चुनावसम्म, जबर्जस्त मान्छे लागिरहेका छन्, जनजातिहरु डल्लै त्यता लागिरहेका छन्, हामीलाई निकै नै अप्ठ्यारो पार्ने भयो यो सबै जिल्लामा सुन्यौं ।’
आन्तरिक प्रयोजनमा राईले सुनाएको निष्कर्ष सार्वजनिक हुँदा सोसल मिडियामा भाइरल भयो । उनको यो निष्कर्षले श्रम संस्कृतिको आक्रामक अभियानलाई अनुमान लगाउन सकिन्छ । सँगै, एमाले कुन मनोदशा र दबावमा छ भन्ने पनि बुझ्न सकिन्छ ।
जबकि कोशी प्रदेश एमालेको गढ क्षेत्र हो । ०४८ साल यताको कुनैपनि निर्वाचनमा एमालेले यो क्षेत्रमा कमजोर नतिजा पाएको छैन । ०६४ सालमा तुलनात्मक कमजोर नतिजा ल्याए पनि अर्को कम्युनिष्ट पार्टी माओवादीको लहर त्यसको कारण थियो ।
कांग्रेस, माओवादी सहित पाँच वटा दलले साझा उम्मेदवार बनाएको ०७९ कै निर्वाचनमा पनि एमालेले कोशीको २८ मध्ये १४ निर्वाचन क्षेत्रमा जितेको थियो । गत २१ फागुनकै चुनावमा पनि एमालेले प्रत्यक्ष तर्फ जितेको ९ मध्ये ४ सिट (इलाम–२, धनकुटा, ताप्लेजुङ र संखुवासभा) कोशीमै हो ।
‘३५ वर्षसम्म जनताले हामीलाई साथ दिएकै हो, जिताएकै हो,’ एमाले नेता राजेन्द्र राई भन्छन्, ‘तर जेनजी आन्दोलनपछि मौन विद्रोह गरे, मत बदले । यद्यपि अरु क्षेत्रको तुलनामा कोशीमा एमालेप्रति भरोसा बाँकी छ । हामी चार जनाले जितेका छौ ।’
गत चुनावको नतिजालाई जनताले दिएको सन्देशका रुपमा ग्रहण गरेर पार्टीले योजना बनाउनुपर्ने उनको सुझाव छ । ‘नयाँहरुप्रति पनि जनताको भरोसा टुटेको छ, प्रश्न उठेको छ,’ धनकुटाबाट निर्वाचित सांसद राई भन्छन्, ‘तर एमाले पनि सच्चिन आवश्यक छ । कमजोरी सच्याएर जाने प्रतिबद्धता गर्दा आगामी स्थानीय चुनावमै विरासत फर्काउन सकिन्छ ।’
एमाले भन्दा भिन्न स्थितिमा अरु परम्परागत दलहरू पनि नरहेको नेताहरु बताउँछन् । कांग्रेसभित्र आन्तरिक मतभेद र नेकपामा एकताको लफडाले संगठनात्मक गतिविधि बलियो देखिँदैन ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।