बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन् । भारतीय मौसम विभागका अनुसार चक्रवातको तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया बुधबार बिहानसम्म जारी थियो ।
मौसम विभागले चक्रवातको पछिल्लो भाग आगामी एक घण्टाभित्र तटीय क्षेत्रमा प्रवेश गरी जमिनमा पुग्ने प्रक्रिया पूरा हुने जनाएको छ । चक्रवातको केन्द्र यानमको दक्षिणतर्फ आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा रहेको विभागले जनाएको छ ।
आन्ध्र प्रदेशको अमरावती मौसम विभागकी निर्देशक डा. के. नागरत्नाका अनुसार चक्रवात मंगलबार राति बापट्ला र यानमबीचको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । बुधबार बिहान तटीय क्षेत्रमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलिरहेको र आगामी तीन घण्टामा हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्न सक्ने उनले बताइन् ।
चक्रवातको गति सुस्त भएकाले यसको प्रभाव तटीय क्षेत्रमा लामो समयसम्म रहन सक्ने मौसम विभागको अनुमान छ । काकिनाडा र यानमको तटीय क्षेत्रमा समुद्र अत्यधिक अशान्त बनेको छ । सामान्य अवस्थाभन्दा २.५ मिटरसम्म अग्ला छाल उठिरहेको विभागले जनाएको छ । समुद्रमा पानीको सतह बढेर काकिनाडा र यानमका होचा भूभागमा पस्न सक्ने जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
चक्रवातको प्रभावले आन्ध्र प्रदेशका बापट्ला, गुंटुर, कृष्णा, एनटीआर, एलुरु, पश्चिम गोदावरी, कोनसीमा, पूर्वी गोदावरी, काकिनाडा, अल्लुरी, अनकापल्ली, विशाखापट्टनम, विजयनगरम, श्रीकाकुलम र पार्वतीपुरम मान्यम गरी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ ।
ती जिल्लाका विभिन्न क्षेत्रमा जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने मौसम विभागले जनाएको छ । चक्रवातको जमिनमा प्रवेश गर्ने प्रक्रिया पूरा नभएसम्म र तीव्र हावाहुरी कम नभएसम्म घरभित्रै बस्न विभागकी निर्देशक नागरत्नाले आग्रह गरेकी छन् । उनले विद्युत्का खम्बा, पुराना भवन र ठूला रूखमुनि नबस्न तथा आधिकारिक सूचनाको निगरानी गर्न पनि आग्रह गरेकी छन् ।
विशाखापट्टनमको आरके समुद्री तटमा तीव्र हावाहुरी र अग्ला छाल देखिएपछि प्रहरीले सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ । माछा मार्न समुद्रमा नजान माछा मार्ने समुदायलाई पनि सचेत गराइएको छ । तीव्र हावाका कारण विशाखापट्टनमस्थित आन्ध्र विश्वविद्यालयको महिला इन्जिनियरिङ कलेज नजिकै एउटा रूख ढलेको छ ।
विजयवाडा सहर र आसपासका क्षेत्रमा चट्याङसहित भारी वर्षा र तीव्र हावाहुरी चलेको छ । वर्षाका कारण होचा बस्ती तथा मुख्य सडकहरूमा पानी जमेको छ । बुधबार दिनभर मध्यमदेखि भारी वर्षा जारी रहन सक्ने अधिकारीहरूले बताएका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले राज्य सरकारले चक्रवातको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार उनले २ हजार १९९ वटा चक्रवात आश्रयस्थल पहिचान गरिएको र सम्भावित जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना तयार रहेको जानकारी दिएका थिए ।
१४ जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का १२ र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का १० टोली परिचालन गरिएको छ । सरकारले १ हजार ८७ वटा स्वास्थ्य टोली, ८ हजार २८१ आकस्मिक शय्या र १ हजार २७४ एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।
सावधानीस्वरूप गर्भवती महिलालाई अस्पतालमा सारिएको छ । खानेपानीका ट्यांकर, जेनेरेटर, पानी प्रशोधन उपकरण तथा ढलेका रूख हटाएर सडक सम्पर्क पुनःस्थापना गर्ने सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ । राज्यको आरटीजीएस केन्द्र र आन्ध्र प्रदेश विपद् व्यवस्थापन प्राधिकरणले चौबीसै घण्टा अवस्थाको निगरानी गरिरहेका छन् ।
चक्रवातका कारण हवाई सेवा पनि प्रभावित भएको छ । विशाखापट्टनम विमानस्थलमा अक्टोबर २७ को दिउँसोदेखि उडान सेवा स्थगित गरिएको थियो । विजयवाडा र राजमहेंद्रवरम विमानस्थलमा मंगलबार साँझ ७ बजेपछि सेवा रोकिएको थियो । एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले उडान रद्द गरेको जानकारी दिएका छन् । एलायन्स एयरले भने आफ्नो सेवा सामान्य रहेको जनाएको छ ।
भारतको नागरिक उड्डयन मन्त्रालयले यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न र प्रभावित यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।