संविधान संशोधनबारे जनमोर्चा : संघीयता खारेज गर्न र राष्ट्रिय जनावर गैंडा बनाउन प्रस्ताव


राष्ट्रिय जनमोर्चाले संविधान संशोधन सम्बन्धी आफ्नो लिखित धारणा सार्वजनिक गर्दै संघीयता खारेज गरी विकेन्द्रीकरणसहितको एकात्मक शासन व्यवस्था लागू गर्न प्रस्ताव गरेको छ।पार्टी अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरसहित सार्वजनिक गरिएको प्रस्तावमा हालको संघीय प्रणालीले देशमा आर्थिक भार बढाएको र जातीय तथा क्षेत्रीय सद्भावमा असर पुर्याएको दाबी गरिएको छ। सोही आधारमा प्रदेश संरचना हटाई केन्द्र र स्थानीय तह मात्र रहने दुई तहको राज्य संरचना कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावमा नेपालको राष्ट्रिय जनावर गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग पनि गरिएको छ। जनमोर्चाले गाई धर्म विशेषसँग जोडिएको प्रतीक भएकाले धर्मनिरपेक्षताको सिद्धान्तअनुसार राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने तर्क अघि सारेको छ।नागरिकताको विषयमा वंशजको आधारलाई प्राथमिकता दिनुपर्ने, गैरनेपालीले सहज रूपमा नागरिकता प्राप्त गर्ने सम्भावना हटाउनुपर्ने तथा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।त्य
स्तै, प्रवासी नेपालीलाई मतदानको अधिकार, ज्येष्ठ नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था, आधारभूत स्वास्थ्य सेवा पूर्ण निःशुल्क बनाउने तथा दलित र महिलाका लागि प्रत्यक्ष निर्वाचनतर्फ विशेष आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने माग पनि जनमोर्चाले अघि सारेको छ।साथै, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र बहुदलीय प्रतिस्पर्धा जस्ता विषयमा कुनै पनि अवस्थामा जनमत सङ्ग्रह गर्न नपाइने व्यवस्था संविधानमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनमोर्चाको प्रस्तावमा उल्लेख गरिएको छ।
नोट: गाईलाई राष्ट्रिय जनावरबाट हटाएर गैंडालाई राष्ट्रिय जनावर बनाउने विषय हाल राष्ट्रिय जनमोर्चाको प्रस्ताव मात्र हो। यस सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको छैन र हाल पनि गाई नै नेपालको आधिकारिक राष्ट्रिय जनावर हो।